शिक्षक सेवा आयोग (TSC) को परीक्षा के हो? परीक्षा, पाठ्यक्रम र तयारीबारे सम्पूर्ण जानकारी
शिक्षक सेवा आयोग (TSC) एउटा सरकारी स्वायत्त निकाय हो। शिक्षक सेवा आयोगले नेपालमा सामुदायिक विद्यालयका शिक्षक बन्नका लागि चाहिने विभिन्न परीक्षाहरू सञ्चालन गर्ने एउटा जिम्मेवार निकाय हो। यसले शिक्षक सेवा आयोगको परीक्षामा सम्मिलित हुन चाहिने अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन तथा अध्यापन अनुमति पत्र (license) वितरण गर्ने काम पनि गर्दछ। यस निकायले मुख्यतः शिक्षक बन्नका लागि लिइने माध्यमिक तह, निम्न माध्यमिक तह तथा प्राथमिक तहको परीक्षा सञ्चालन गर्ने काम गर्दछ। यस निकायले सामुदायिक विद्यालयका शिक्षकहरूको नियुक्ति गर्नुका साथै शिक्षकहरूको सरुवा तथा व्यवस्थापनको काम पनि गर्दछ।
TSC परीक्षा कसको लागि हो?
यो परीक्षा खास गरेर शिक्षा विषय लिएर पढेका विद्यार्थीहरू, जो स्थायी रूपमा सामुदायिक विद्यालयमा शिक्षक बनेर काम गरेर सेवा दिन चाहन्छन्, त्यसका लागि हो। विगतमा यस परीक्षामा शिक्षा विषय लिएर पढेका उम्मेदवारहरू मात्र सम्मिलित हुन पाउँथे भने हाल अन्य सङ्कायका विद्यार्थीहरू पनि सम्मिलित हुन पाउँछन्।
विज्ञान, अङ्ग्रेजी तथा लेखा विषयका लागि अन्य सङ्कायमा bachelor पढेका व्यक्तिहरूले पनि दिन पाउँछन्। अन्य सङ्कायका विद्यार्थीहरू TSC को परीक्षामा मा.वि. बाहेक अन्य तहमा भने प्रतिस्पर्धा गर्न पाउँदैनन्।
सङ्काय जुनसुकै भए पनि शिक्षक सेवाको परीक्षामा सम्मिलित हुन शिक्षक सेवा आयोगले Teaching License अनिवार्य गरेको छ।
TSC परीक्षाका मुख्य चरणहरू
TSC परीक्षाका ३ चरणहरू छन्।
१. सामान्य परीक्षा
२. विषयगत परीक्षा
३. अन्तरवार्ता
१. सामान्य परीक्षा
यो परीक्षा प्रथम चरणको परीक्षा हो र यसमा बहुवैकल्पिक प्रश्नहरू सोधिने गरिन्छ। यस परीक्षाको पूर्णाङ्क १०० हो भने उत्तीर्णाङ्क ५० हो। प्रत्येक गलत उत्तरमा २०% अङ्क कट्टा गरिन्छ।
यो एउटा छनोट परीक्षा हो र यस परीक्षामा उत्तीर्ण उम्मेदवारहरूले मात्र अर्को परीक्षामा सम्मिलित हुन पाउँछन्। प्रथम पत्रको कुल प्राप्ताङ्कको ५०% अङ्क Final Merit List मा जोडिन्छ।
२. विषयगत परीक्षा
यो परीक्षा दोस्रो चरणको परीक्षा हो र यसमा विषयगत प्रश्नहरू सोधिने गरिन्छ। यस परीक्षाको पूर्णाङ्क १०० हो भने उत्तीर्णाङ्क ४० हो।
यस परीक्षामा सम्बन्धित विषयमा आधारित पाठ्यक्रमको आधारमा रहेर प्रश्न सोधिने गरिन्छ। लामो र छोटो गरेर दुई किसिमका प्रश्नहरू यस पत्रमा सोधिने गरिन्छ।
३. अन्तरवार्ता
सामान्य र विषयगत परीक्षाको नतिजाको आधारमा छनोट भएका उम्मेदवारहरू यस चरणमा पुग्छन्। यस चरणको परीक्षाको अङ्कभार २५ हुन्छ र यसमा शैक्षिक योग्यता, अनुभव र अन्तरवार्ताको अङ्क समावेश हुन्छ।
यो प्रक्रिया मा.वि. तह, निम्न मा.वि. तह र प्रा.वि. तहका लागि पनि लागू हुन्छ।
TSC को पाठ्यक्रम कहाँबाट हेर्ने?
TSC को पाठ्यक्रम शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट https://tsc.gov.np/ मा हेर्न र download गर्न सकिन्छ।
पाठ्यक्रम हेर्ने र download गर्ने प्रक्रिया
- सर्वप्रथम https://tsc.gov.np/ मा जानुहोस्।
- त्यसपछि प्रकाशनमा mouse लानुहोस् र पाठ्यक्रममा click गर्नुहोस्।
- त्यसपछि सम्बन्धित पाठ्यक्रम खोजेर PDF अथवा eye icon मा click गर्नुहोस्।
- यस तरिकाले सम्बन्धित पाठ्यक्रम सजिलै हेर्न सकिन्छ र download पनि गर्न सकिन्छ।
TSC तयारी कसरी सुरु गर्ने?
हेर्दा सजिलो लागे पनि शिक्षक सेवा आयोगमा नाम निकाल्न सजिलो भने छैन। यसको तयारी गर्न र सफल हुन धैर्यता र consistency चाहिन्छ। हरेक वर्ष हजारौँ उम्मेदवारहरू शिक्षक सेवाको परीक्षामा सहभागी भए तापनि थोरैले मात्र नाम निकाल्न सफल हुन्छन्। तयारी सुरु गर्नु भन्दा पहिले निम्न कुरामा ध्यान दिए नाम निकाल्न गाह्रो भने हुँदैन।
सबैभन्दा पहिले उम्मेदवारले आफ्नो शैक्षिक योग्यता हेरेर आफूले दिनुपर्ने तह यकिन गर्नुपर्दछ। र सम्बन्धित पाठ्यक्रम download गरेर राख्नुपर्दछ।
त्यसपश्चात पढ्न चाहिने सामग्री, सम्बन्धित किताब, नोट्स र पुराना प्रश्नहरू सङ्कलन गरेर राख्नुहोस्।
त्यसपछि पढ्नका लागि समय छुट्याउनुहोस्। घण्टौँ पढ्नुभन्दा थोरै तथा नियमित पढ्नुहोस्। पढ्नका लागि दैनिक ४ देखि ६ घण्टा छुट्याउनुहोस्।
त्यसपछि चरणबद्ध रूपमा प्रथम पत्र र सम्बन्धित विषयको दोस्रो पत्रको पाठ्यक्रमको नियमित अध्ययन गर्नुहोस् र लिखित अभ्यास गर्नुहोस्।
पुराना प्रश्नहरू दोहोरिने र प्रश्न सोध्ने शैली उस्तै भएकोले पुराना प्रश्नपत्र तथा MCQ Model Question सेटको नियमित तयारी तथा अभ्यास गर्नुहोस्।
धेरैजसोले प्रथम पत्रमा ध्यान दिन्छन् र दोस्रो पत्रको तयारीमा ध्यान दिँदैनन्। जसले गर्दा नाम निकाल्न कठिन हुन जान्छ। तसर्थ दुवै पत्रलाई उत्तिकै महत्वका साथ तयारी गर्नुपर्छ।
शिक्षक सेवा आयोगमा प्रथम पत्रमा नाम निकाल्न पढेर मात्र हुँदैन, त्यसका लागि विशेष रणनीति तथा आफ्नो बानीमा विशेष सुधार ल्याउनु जरूरी छ।
निष्कर्ष
शिक्षक सेवा आयोगको परीक्षा नेपालमा सामुदायिक विद्यालयमा शिक्षक बन्नका लागि एउटा महत्वपूर्ण परीक्षा हो। TSC को तयारी सुरु गर्नु अघि TSC का लागि चाहिने योग्यता यकिन गरेर, सम्बन्धित तहको र विषयगत पाठ्यक्रमको राम्रो जानकारी लिनुपर्दछ।
नियमित अध्ययन, पुराना प्रश्नहरूको नियमित अभ्यास र समय व्यवस्थापनले परीक्षालाई अझ प्रभावकारी बनाउन मदत गर्छ। आयोगको आधिकारिक सूचना र पाठ्यक्रमलाई आधार मानेर नै तयारी गर्नुपर्दछ।